संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीले कोरोना भाइरसको ‘दोस्रो वेभ’ को जोखिम बढिरहेको बेला सरकारले त्यसको रोकथामको लागि प्रभावकारी काम नगरेको बताएका छन्।

पछिल्लो समय संक्रमण फैलिने जोखिम उच्च रहे पनि सरकारले आवश्यक कदम नचालेको हुँदा पुनः लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने डा. सुवेदीको भनाइ छ।

‘लकडाउनमा नजाने हो भने अहिलेदेखि नै आवश्यक सबै कुरा प्रभावकारी ढंगले गर्नुपर्छ, हैन भने यसरी झारा टार्ने हिसाबले काम गरे फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने।

यद्यपि अहिल्यै नै लकडाउनमा जानुपर्ने अवस्था भने नआएको उनी बताउँछन्। तर सरकारले त्यसका लागि परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिन जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने उनको सुझाव छ।

उनले अहिले भइरहेको परीक्षण नीति नै गलत रहेको बताए।

‘उपत्यका भित्रिने मानिसहरूलाई पिसिआर परीक्षण गरिएको छैन। शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरिन्छ। त्यसमा पनि लक्षण भएकाहरूको मात्र,’ डा. सुवेदीले भने, ‘आधा मानिसहरू लक्षणविहीन हुन्छन्। त्यसरी लक्षण भएकाहरूको मात्रै परीक्षण हुने हो भने आधा संक्रमित त समुदायमा छिरिहाल्छन् नि।’

एन्टिजेन परीक्षणको विश्वसनीयता कम भएकाले यसलाई कुनै निश्चित क्षेत्र वा समूहमा त्यहाँको जोखिम अवस्था आकलन गर्न मात्र प्रयोग गर्न उपयोगी हुने उनी बताउँछन्।

यसअघि पनि सरकारले सुरूमा पिसिआर परीक्षण ठाउँमा र्‍यापिड टेस्टलाई प्राथमिकता दिँदा संक्रमण ह्वात्तै बढेको थियो। पछि सर्वत्र आलोचना भएपछि मात्र सरकारले उक्त परीक्षणलाई स्थगित गरेर पिसिआर परीक्षणलाई नै जोड दिएको थियो।

डा. सुवेदीले अहिले पिसिआर परीक्षण क्षमता पनि धेरै रहेको र सस्तो पनि भएकाले सरकारले त्यसमै जोड दिनुपर्ने बताए।

सरकारले दैनिक २५ देखि ३० हजार जनाको पिसिआर परीक्षण गर्ने क्षमता रहेको बताउँदै आएको थियो। तर पछिल्लो समय संक्रमण दर घटेको देखिएपछि परीक्षण संख्या पनि घटाइएको थियो।

तर केही सातायता भने पिसिआर परीक्षणलाई बढाइएको छ। संक्रमण दर बढेका कारण सरकारले पिसिआर परीक्षणलाई पनि बढाएको हो। गएको २४ घण्टामा ४ हजार २ सय जनाको परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको छ।

यसअघि पनि सरकारले बेलैमा परीक्षण गर्ने कार्यलाई ध्यान नदिँदा महामारीले खराब अवस्था लिएको थियो। यसपटक पनि सोही गल्तीतिर सरकार अग्रसर रहेको डा. सुवेदी बताउँछन्।

उनी भन्छन्, ‘कम्तीमा क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङ त मज्जाले गर्न सकिन्छ नि। त्यसका लागि प्राविधिक दक्षता पनि चाहिँदैन। तर हाम्रो सबै कार्य नै अवैज्ञानिक छ।’

सरकारले नै संक्रमण जोखिम बढ्दै गएको र आवश्यक तयारीमा जुटेको भनिए पनि के-के ठोस कदम चालिएको भन्ने देखिँदैन।

पहिले चरणमा विभिन्न सडक नाकामार्फत् उपत्यका भित्रिने व्यक्तिमा लक्षण देखिए एन्टिजेन परीक्षण गर्ने भनिएको छ। तर हवाई मार्गबाट आउने मानिसहरूलाई भने निर्वाध आउन दिइराखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नै आगामी जेठ/असारमा महामारी उच्च बिन्दुमा पुग्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा मन्त्री त्रिपाठीले संक्रमणको जोखिम बढेको भन्दै त्यसको रोकथामको लागि सरकार जुटेको बताएका थिए।

पछिल्लो समय भारतमा संक्रमण दर बढेसँगै त्यसको जोखिम नेपालमा पनि बढेको छ।

भारतले संक्रमण दर बढेकै कारण आफ्ना केही राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।

भारतमा संक्रमण पुनः बढेसँगै नेपालका नाकामा पनि सतर्कता अपनाइए पनि त्यो प्रभावकारी भएको देखिँदैन। अहिलेसम्म सबै नाकाबाट निर्वाध रूपमै मानिसहरू आवतजावत गरिरहेका छन्।

नाकामा हेल्थ डेस्क स्थापना गरे पनि त्यहाँ ज्वरो नाप्ने र ती मानिसहरूको अभिलेख राख्ने कामबाहेक अरू कार्य हुन सकेको छैन। त्यसरी भारतबाट नेपाल आएका मानिसहरूलाई उनीहरूको सम्बन्धित ठाउँहरूमा क्वारेन्टिन गर्ने काम भएको छैन। साथै उनीहरूको यहाँ आएपछिको निगरानी गर्ने कार्य पनि भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *