काठमाडौँ । यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक  मूल्यांकनबाटै गर्ने  निर्णय लिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सोमबार बसेको बैठकले एसईई आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईई वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुभएको हो ।

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।

अघिल्लो वर्ष पनि विद्यालयको पहिलो त्रैमासिक अवधिको मुल्यांकन १० प्रतिशत, दोस्रो अवधिको ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्मका सबै विषयको मुल्यांकन बाट नतिजा तयार गरिएको थियो ।

यस्तै  बोर्डले जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित गरेको थियो । कक्षा १२ को परीक्षा कसरी गर्ने भन्ने निर्णय भने सरकारले लिइसकेको छैन । कक्षा १२ को परिक्षा कसरी गर्ने भन्नेबारे मन्त्रालयले आन्तरिक छलफल थालेको तर निर्णयमा पुगिनसकेको शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन् । छिट्टै कक्षा १२ को परीक्षाबारे पनि निर्णय लिइने तयारीमा मन्त्रालय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *