काठमाण्डौ ।  चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल आज (मंगलबार)देखि लगाउन सुरु गरिँदै छ ।अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई  लगाइँदैछ । यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।

सोमबारको परिपत्र अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकता क्रममा पर्ने भएका हुन् ।

अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा परिपत्र अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ भने पर्याप्तताको आधारमा ६० र ६१ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ ।

काठमाडौं महानगरपालिकाले चिनियाँ खोपको पहिलो डोज लगाउनका लागि ३२वटा केन्द्र  तोकेको छ ।

खोप लगाउन जाँदा आफ्नु  उमेर खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *